अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन: प्रधानमन्त्री कार्की

काठमाण्डु टुडे २०८२ असोज ३० गते १३:१२ मा प्रकाशित

काठमाण्डू, ३० असोज– प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छन । आज (बिहिबार) नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन ।

जिल्ला अदालत काठमाण्डू जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको थियो सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन आग्रह गरे ।

त्यस सन्दर्भमा प्रधानमन्त्री कार्कीले अदालतको सेवा रोक्न नमिल्ने भएकाले प्राधिकरणको भवन उपलब्ध गराउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्राधिकरणले तत्कालका लागि सशर्त भवन उपलब्ध गराउने समझदारी बनेको छ । अदालत र प्राधिकरणबिच समझदारी गर्न प्रधानमन्त्रीले निर्देशन दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us