काठमाण्डू, २९ असोज– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को विध्वंशात्मक घटना हुन्छ भन्ने पहिले नै जानकार रहेको तर रोक्न नसकेको बताएका छन ।
आज (बुधबार)बाट सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसबारे जानकारी गराए । ओलीले पहिले पनि पटकपटक त्यस्ता घटना गराउने प्रयास भएको बारे खुलासा गरेका हुन । ‘यत्रो घटना हुँदा पनि कसरी थाहा भएन भन्नु हुन्छ साथीहरु, ‘पहिलेदेखि नै थाहा थियो ।
चैत १५ गते यस्तै घटना गराउन खोजिएको थिएन ? उनीहरूको प्रयास निरन्तर भइरहेको थियो। सधैं रोक्ने गरिएको थियो। यसपटक रोक्न सकिएन। थाहा नभएको होइन ।’ जेनजीले गरेको आन्दोलनको दोस्रो दिन २४ भदौमा ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भएका थिए ।
उनले जेन–जीको माग र आन्दोलन विध्वंश र त्यसपति बनाइएको सरकारसँग नजोडिने भन्दै उनले प्रतिगामीहरूले षड्यन्त्र गरेको चर्चा गरे । ‘जेन–जीकै अगुवाहरु अहिले पनि भनिरहेका छन्, संसद् विघटन, सरकार ढाल्नेजस्ता माग हाम्रो थिएन भनेर भनिरहेका छन् ।
आन्दोलनकै पहिलो दिन दिउँसोबाट आन्दोलन हाइज्याक गरियो भन्ने उनीहरूको भनाइ आइरहेको छ,’ ओलीले भने, ‘भएको पनि यही हो।’