झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाण्डु टुडे २०८२ साउन २५ गते १५:४६ मा प्रकाशित

काठमाण्डू, २५ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

हालै माओवादीको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेकोमा आइतबार खानालको डल्लुस्थित निवासमै पुगेर श्रेष्ठले भेट गरेका हुन् । भेटमा पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

करिब एक घण्टा चलेको भेटमा राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे दुई नेताबीच कुराकानी भएको पनि स्रोतले जानकारी दिएको छ । नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा समेत छलफल भएको बताइएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार वर्तमान सरकार निरङ्कुश र भ्रष्ट बन्दै गइरहेको भन्दै उनीहरुले आलोचना गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता चर्चा भइरहेका बेला श्रेष्ठले एकीकृत समाजवादीका नेताहरूसँगको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us