काठमाण्डू, २५ साउन– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री फेरबदलबारे छलफल गरेका छन ।आइतबार बिहान उनले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् ।
केही दिनअघि उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । दुई शीर्ष नेतासँगको भेटमा प्रदेशका मन्त्री फेरबदलका विषयमा छलफल भएको उनी निकट स्रोतले जानकारी दिएको छ ।
यद्यपि मुख्यमन्त्री कार्कीले समग्र परिस्थितिको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका छन् । देउवासँगको भेटको विषयमा उनले भने, ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पनि प्रदेशको समग्र परिस्थितिका विषयमा जानकारी गराए ।’
स्रोतका अनुसार मन्त्रीमण्डल फेरबदलको विषयमा केपी ओलीले सल्लाह गरेर भनौंला भनेका छन् । देउवाले त्यही जवाफ दिएका थिए । मुख्यमन्त्रीले भेटघाटका सबै विषय प्रष्ट रुपमा बताउन चाहेनन् । तर दुवै नेतासँगको भेटमा प्रदेशको मन्त्रीमण्डल परिवर्तनको विषयमा छलफल भएको स्रोत बताउँछ । ‘कोलिसन पाटनरसँग कुरा नभई त्यस्तो कुरा टुंगिदैन ।
प्रधानमन्त्री र कांग्रेस सभापति देउवासँग कुरा भयो, माथिबाट कुरा नआइकन मन्त्री फेरिदैनन’, स्रोतले भन्यो, ‘यहाँको स्थीति रिपोर्टिङ भएको छ । अब उहाँहरुले सल्लाह गरेर भन्नुहुन्छ, हेरौं केही दिन ।’
मुख्यमन्त्री निकट स्रोतका अनुसार बागमती प्रदेशमा देखिएको विवादका कारण शेरबहादुर देउवाले कोशीमा केही समय मन्त्री फेरबदल रोक्न लगाएका छन् । कोशीमा पनि कांग्रेस संसदीय दलभित्र विवाद छ ।