काठमाण्डू, २५ साउन– मकवानपुरमा प्रतिबन्धित पाराक्वेट नामक झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ घर भएकी ३९ वर्षीया एक महिला रहेकी छन ।
ती महिलाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । गत साउन ९ गते विषादी सेवन गरेकी ती महिलालाई चितवन मेडिकल कलेजको आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो ।
तर पछि ती महिलाका आफन्तले रिफर मागेर हेटौंडा नै लगेका थिए । अस्पताल आउँदा उनले सुरुमा काँचो आँप खाएको भनेर झुटो बोलेकी थिइन् । तर, चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा उनले पाराक्वेट विषादी खाएको पत्ता लागेको थियो ।
विषादी सेवन गरेको सुरुका केही दिन सामान्य समस्या मात्रै देखिए पनि ४–५ दिनपछि असर बढ्दै गएको थियो । विषादीको असर बढ्दै गएर मिर्गौला र कलेजोमा क्षति पुगेको थियो । ती महिलाका एक छोरा, एक छोरी र श्रीमान छन् । उनका श्रीमान सवारी चलाउने काम गर्दछन् ।