तीजको नाच हेरेर फर्किरहेकी बालिका बलात्कृत

काठमाण्डु टुडे २०८२ साउन २५ गते १२:४१ मा प्रकाशित

काठमाण्डू, २५ साउन– प्रहरीले दैलेखमा १२ वर्षीया बालिकालाई लखेटी–लखेटी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते राति तिजको नाच हेर्न गएकी बालिका बलात्कृत भएकी हुन् ।

तिजको नाच हेरेर फर्किँदै गर्दा गाउँकै दुई युवाले लखेटी–लखेटी करणी गरेको घटना सार्वजनिक भएपछि प्रहरीले चामुण्डाबिन्द्रासैनी–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय दैलेखले जानकारी दिएको छ ।

उनीहरूले छिमेक गाउँकी १२ वर्षीया बालिकालाई पालैपालो बलात्ककार गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले जानकारी दिएका छन । साउन २२ गते राति उनीहरू सँगै तीजको नाच हेरिरहेका थिए । नाच हेरेर एकै उमेरका ४र५ जना किशोरीको समूह घर फर्किँदै थियो ।

त्यही समयमा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरेका थिए । पिछा गरेको थाहा पाएपछि किशोरीहरू भागे । त्यहीमध्येकी एक किशोरी भाग्ने क्रममा लडेपछि गोविन्द र खगेन्द्रले उनलाई पालैपालो बलात्कार गरेको दैलेख प्रहरीले जनाएको छ । उनीहरूले ती बालिकालाई ढुंगामेत प्रहार गरेका थिए । ढुंगाले हातमा चोट लागेका कारण बालिका धेरै भाग्न नसकेको प्रहरीले जनाएको छ ।

त्यहाँबाट भाग्न सफल अन्य किशोरीहरुले तत्कालै घरमा घटनाबारे जानकारी दिएपछि अभिभावकहरू घटनास्थल पुगेका थिए । बालिकाका आफन्तहरू आएको थाहा पाएपछि गोविन्द र खगेन्द्र त्यहाँबाट भागेको खुलेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा ती युवाहरूलाई पक्राउ गरिएको डिएसपी बरालले जानकारी दिएका छन । बालिकालाई घटनालगतै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

उनको दाहिने हात मर्केको छ भने गुप्तांगमा घाउ रहेको चिकित्सकहरुले जनाएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us