नेपाली महिलालाई दलालले दुबईमा लगेर बेचेपछि…

काठमाण्डु टुडे २०८२ साउन २४ गते १७:१४ मा प्रकाशित

काठमाण्डू, २४ साउन– बिहीबार दिउँसो बबरमहलको मानव बेचबिखन अनुसन्धान ब्युरोमा भेटिएकी बबरमहल–१ (परिवर्तित नाम) खाडी (दुबई)मा बेचबिखनमा परेकी नेपाली महिला हुन् । दलालको प्रलोभनमा परेर वैदेशिक रोजगारीको नाममा दुबई पुगकी उनी न्याय खोज्दै ब्यूरोसम्म आइपुगेकी थिइन् ।

खाडीमा चार महिना बन्धक भएको पीडा सुनाउँदा उनको आवाज पटक–पटक अवरुद्ध भयो । आठ महिनाअघि आफू बेचिएको भन्दै उनी ब्युरोमा आफूले दिएको जाहेरीबारे जानकारी लिन पुगेकी हुन् । नेपालमा ठिकठाक आफ्नो जीवन गुजारा गरिरहेकी उनी बहिनीको नन्दले भेटाइदिएका ललितपुरका दलाल (मनोज महर्जन)को फन्दा परेकी थिइन् ।

महर्जनकै प्रलोभनमा परेर उनी विदेश जान राजी भएको उनी बताउँछिन् । महर्जनले दुबईस्थित टिस्यु कम्पनीमा मासिक ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाएनन् मात्र खान र बस्नसमेत फ्रीमा पाइने आश्वासन दिएका थिए । उनी मन्जुर भइन् । र, महर्जनको खातामा पहिलो पटक दुई लाख ५० हजार र दोस्रो पटक २० हजार नगद पठाइदिइन् ।

यति मात्र होइन, मेडिकलका लागि भन्दै थप आठ हजार रुपैयाँ पनि । दलालले विदेशमा राम्रै ठाउँमा रोजगारी लगाउँछन् भन्ने लागेको थियो,’ बबरमहल–१ भन्छिन्, ‘त्यहाँ पुगेको तीन दिनपछि हामीलाई अन्यत्रै लगियो, एक महिनापछि कोठामा थुनेर बन्धक बनाइयो ।’ दुबईमा बन्धक बनाएपछि आफू बेचिएको थाहा पाएकी उनलाई चार महिना एउटा कोठामा राखेपछि अर्को एजेन्टमार्फत फेरि ओमान पु¥याइएको थियो । र त्यस काममा मनोजका भाइ अनोज संलग्न थिए ।

‘दुबई पु¥याएको १५ दिनमै हाम्रो मोबाइल खोसिएको थियो, मसँगै रहेकी कपिलवस्तुकी एक बहिनीले भनेपछि मात्रै आफू बेचिएको थाहा पाएँ,’ उनले भनिन्, ‘विदेशको दलालले तिमीहरूलाई किनेका हौँ भनेपछि मेरो मन आत्तियो ।’ बबरमहल–१ मात्र होइन, उनकी बहिनीकी नन्दले समेत विदेशमा पाँच महिना बन्धक बसेर आएर प्रहरीमा जाहेरी दिएकी छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा बेचिएका नेपालीले स्वदेश फर्केर नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिने घटना बढ्न थालेको छ । तर धेरैले आफूहरूले गरेको खर्च फिर्ता पाएको भन्दै उजुरी दिन नखोजेका अनुसन्धानमा संलग्न अधिकारीहरू बताउने गर्छन् । उजुरी परेपछि ६ महिनादेखि फरार दलाल मनोज भने पक्राउ परेका छन् ।

बिहीबार सनाखत गराएर उनीमाथि प्रहरीले थप अनुसन्धान बढाएको छ । प्रहरीका अनुसार मनोज यसअघि पनि मानवबेचबिखन मुद्दामा उच्च अदालतबाट धरौटीमा छुटेका व्यक्ति हुन् । मनोजविरुद्ध चार वटा वैदेशिक रोजगार ठगीका मुद्दा चलिरहेका प्रहरी अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us