काठमाण्डू, ८ साउन– सम्पत्ति शुद्धीकरण र अनलाइन ठगीका गतिविधिमा जोडिएको भन्दै सरकारले बन्द गराएको सामाजिक सञ्जाल टेलिग्राममा निरन्तर अपडेट गरिरहने काठमाण्डूस्थित रुसी दूतावासले जनाएको छ ।
नेपाल सरकारले टेलिग्राम एप बन्द गराए पनि दूतावासको आधिकारिक टेलिग्राम च्यानल निरन्तर चलिरहने जानकारी गराएको छ । ‘तर, नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र टेलिग्राम प्लेटफर्मलाई ब्लक गर्ने निर्णय गरेकाले हाम्रो एकाउन्टमा पहुँचमा अवरोध हुनसक्ने सम्भावना छ’, दूतावासले भनेको छ, ‘हामी स्थिर सञ्चार कायम गर्न र अपडेटहरु वैकल्पिक माध्यममार्फत दिन पनि हरेक प्रयास गरिरहेका छौं ।’
नेपाल दूरसञ्चार प्राधिकरणले २ साउनमा सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो । त्यसपछि नेपालमा टेलिग्राम चल्न छाडेको छ । यस्तोमा काठमाण्डूस्थित रुसी दूतावासले विकल्पका रुपमा रुसी सामाजिक सञ्जाल भीके प्रयोग गर्न समेत सुझाएको छ ।
भीके र टेलिग्राम दुवैका सञ्चालक एकै व्यक्ति हुन् । सन् २०१३ मा टेलिग्रामको स्थापना गर्नुअघि रुसी उद्यमी पावेल डुरोभले रुसको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल भिके स्थापना गरेका थिए ।