अहिले पनि कम्युनिष्ट एकताको झण्डा बोकिरहेकै छुः प्रचण्ड

काठमाण्डु टुडे २०८२ साउन ७ गते १७:३८ मा प्रकाशित

काठमाण्डू, ७ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु अहिले पनि कम्युनिष्टहरूको एकताका लागि झण्डा बोकेर हिँडिरहेको बताएका छन ।

आज (बुधबार) पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाण्डूस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्र्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले कम्युनिष्ट आन्दोलनमा आफ्नो ३६ वर्षीय लामो भूमिकाको स्मरण गर्दै यस्तो बताएका हुन । उनले विद्रोह, शान्ति प्रक्रिया र पार्टी एकताका लागि आफूले नेतृत्व गरेको पनि बताएका छन ।

उनले पुष्पलालको श्रद्धाका लागि पनि कम्युनिष्ट आन्दोलनलाई एक बनाउन लाग्नुपर्ने पनि बताए । अध्यक्ष प्रचण्डले भने, ‘कहिले विद्रोह, कहिले शान्ति प्रक्रिया, कहिले पार्टी एकता– यी सबैमा मैले नेतृत्व गरेको हुँ ।

अहिले पनि म कम्युनिष्टहरूको एकताको झण्डा बोकेको छु ।’ वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्ने पनि बताएका छन । अध्यक्ष प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनका साझा व्यक्तित्वका रूपमा पुष्पलाललाई स्मरण गर्नुपर्ने उनले बताए ।

‘पुष्पलाल हामी सबैको साझा केन्द्र हुनुहुन्छ। उहाँलाई केन्द्रमा राखेर सच्चा कम्युनिष्टहरूले पार्टी एकता र मोर्चा निर्माण गर्नु आजको आवश्यकता हो,’ प्रचण्डले भने । पुष्पलाललाई जनयुद्धका क्रममा सम्मान गर्ने गरी नै आफूले दस्तावेज लेखेको प्रचण्डको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us