शंकर पोखरेलको पत्रकार सम्मेलन पछि मात्रै म आफ्ने बिचार सार्वजनिक गर्छुः भण्डारी

काठमाण्डु टुडे २०८२ साउन ७ गते १३:०१ मा प्रकाशित

काठमाण्डू, ७ साउन– पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले एमाले केन्द्रीय कमिटी बैठक चल्दाचल्दै मंगलबार केही संवाददाता भेटेकी थिइन् ।

त्यहाँ उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सक्रिय राजनीतिमा आउनबाट रोक्न चाहेको आभास पहिलेदेखि नै मिलेको, तर अहिले स्पष्ट भएको भन्दै आफू चुप लागेर नबस्ने चेतावनी दिएको स्रोत बताउँछ । मंगलबार मध्यरातमा सकिएको एमाले बैठकले उनै भण्डारीलाई एमालेको राजनीतिमा आउनबाट रोक्ने निर्णय गरिदियो ।

केन्द्रीय कमिटीको उक्त निर्णयलाई भदौमा बस्ने विधान महाधिवेशनबाट अनुमोदन गराउने पार्टी योजना रहेको स्रोतले जानकारी दियो । लगत्तै आज (बुधबार) बिहान केही निकटस्थ नेतासँग परामर्श गरेकी भण्डारीले आफूसँग केही सोचाइहरू रहेको भन्दै त्यसलाई केही दिनभित्र साझा गर्ने बताएको भण्डारी निकट स्रोतले जानकारी दियो ।

भण्डारीले आफूहरुसँग भनेको उद्धृत गर्दै एक निकट नेताले भने, ‘हामी लागेर बनाएको पार्टी हो, तर अध्यक्षले जुन शैली देखाउनुभयो, त्यसले पार्टीलाई निराश बनाउने बाहेक केही गर्दैन । यो पार्टीमा कोही एउटा मात्र नेता छैन, जनताको बहुदलीय जनवादको स्पिरिट कुनै व्यक्तिविशेषलाई मात्रै मान्ने भन्ने हुँदै होइन । मसँग ब्याक अप नै छैन भन्ने होइन ।

म ब्याक अपविना बसेकी छैन । मलाई एक–दुईवटा जरुरी भ्याउनैपर्ने केही काम सक्न दिनुस् । म केही दिनमै बोल्छु ।’ भण्डारीले आज एमाले महासचिव शंकर पोखरेलले आयोजना गर्ने पत्रकार सम्मेलनमा कस्तो विचार प्रकट हुँदोरहेछ, सुनिहेर्ने बताएकी छन् ।

त्यसपछि उनले आफ्नो विचार बाहिर ल्याउने निकट नेताहरुले बताएका छन् । भण्डारीले राष्ट्रपति पदबाट निवृत्त भएपछि नवीकरण गरेको सदस्यता एमालेले रद्द गरिदिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us