काठमाण्डू, ६ साउन– सत्ता घटक दल एमालले पार्टीबाट राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचितलाई पार्टी सदस्यता र जिम्मेवारीबाट सधैंका लागि निवृत्त हुने गरी वैधानिक प्रबन्ध गर्नुपर्ने प्रस्ताव गरेको छ ।
हिजो (सोमबार) देखि एमालेका मुख्यालय च्यासलमा जारी केन्द्रीय समिटीको बैठकमा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् । बैठकमा यस्तो प्रावधानका लागि विधान संशोधन प्रस्ताव गरिएको हो । राज्य सञ्चालनको लागि नभई नहुने केही शीर्ष नेतृत्व बाहेक पार्टीको टिकटमा निर्वाचित हुने जनप्रतिनिधिलाई निश्चित समयपछि ‘कुलिङ पिरियड’ को व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
यसले टिकटका लागि हुने खिचातानीको न्यूनीकरण हुनुको साथै न्याय स्थापित हुने विश्वास उनको छ । उमेर हद, कार्यकाल र अन्य विषयमा पार्टी सचिवालय र पोलिटब्युरोको प्रस्तावलाई नै समर्थन गरिने प्रस्ताव छ ।
जबजको वैचारिक, दार्शनिक र प्राज्ञिक उन्नयनका लागि मौजुदा मदन भण्डारी फाउन्डेसनको विज्ञ र बुद्धिजीवी सम्मिलित केन्द्रीय संरचना व्यवस्थित गर्ने प्रस्ताव भट्टराईको छ । यसैगरी पार्टी कमिटी र जनवर्गीय संगठन जस्ता देखिने हालका अरू सबै संरचना खारेज गर्ने प्रस्ताव उल्लेख छ ।