सत्तामै भएकै आधारमा अतिरिक्त सुविधा पाउनुहुँदैनः महामन्त्री थापा

काठमाण्डु टुडे २०८२ साउन ६ गते १९:३६ मा प्रकाशित

काठमाण्डू, ६ साउन– कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस सत्तामा भएकै आधारमा अतिरिक्त सुविधा पाउन नहुने बताएका छन् । बलियो, शक्तिशाली वा सत्तामा बसेको भएपनि गलत गरेको भए गलतै हुने तर्क गरेका छन । आज (मंगलबार) बीपी स्मृति दिवसका अवसरमा चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन ।

महामन्त्री थापाले भने,‘अतिरिक्त सुविधा प्राप्त गर्नु पर्छ भन्ने होइन, चाहे जोसुकै होस् शक्तिशाली होस्, सत्तामा बसेको मान्छे होस्, बलियो मान्छे होस् गलत गलतै हुन्छ,सही सही नै हुन्छ भनेर भन्ने कांग्रेस पार्टीको यो दृष्टिकोण दायाँ बायाँ कहिले पनि हुनुहुन्न ।’ सार्वजनिक ओहदामा बसेको व्यक्तिले भ्रष्टाचार गरे त्यसको भारी व्यक्ति स्वयंले बोक्नुपर्ने महामन्त्री थापाले बताए ।

पार्टी र कार्यकर्ताले उसको दोषको भारी बोक्न नसक्ने पनि बताएका छन । उनले भने, ‘कानुनको शासन भएको देशमा कानुनले जे भन्छ त्यही ठहरिन्छ त्यही हुनुपर्छ, बीपी कोइरालाले सिकाएको कुरा यही नै हो, ‘वैयक्तिक जीवन होस् चाहे पार्टी जीवनमा, म त्यो बेलामा गलत ठाउँमा छु भने तपाईले मेरो संरक्षण गर्ने होइन, तपाईंले मेरो वकालत गर्ने पनि होइन, तपाईले कांग्रेस भएको कारणले गर्दा यसले अतिरिक्त सुविधा प्राप्त गर्नु पर्छ भन्ने पनि होइन’, उनले भने । थापाले ०८४ को चिन्ता नगर्न कार्यकर्तालाई आग्रह गरे ।

चुनावको चिन्ता भनेको लोभी हुनु भएको अर्थ्याउँदै थापाले लोभी भए धेरै कुरा गर्न नसकिने बताए । उनले भने, ‘सत्यको पक्षमा उभिने हो, ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने हो, सहीलाई सही गलतलाई गलत भन्ने हो,’ ‘हाम्रा गल्तीहरुलाई स्वीकार गरौं , हाम्रा कमजोरीहरुलाई स्वीकार गरौं, आफुलाई सच्याउँ, सच्याउने ठाउँमा घर भित्रको फोहोर पनि सफा गरौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us