काठमाण्डू, ४ साउन– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न संस्कृति एवं कलाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन । आज (आइतबार) ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरूसँग संसद् भवनमा भेट्दै सभामुख घिमिरेले यस्तो बताएका हुन ।
साथै, उनले भुटानबाट ठूलो संख्यामा नेपालीहरू लखेटिनुपरेको विषय पनि सो क्रममा सुनाए । उनले भने, ‘पञ्चायत व्यवस्थालाई अन्त्य गरेर बहुदलीय व्यवस्था आएको थियो, त्यहीबेला भुटानबाट ठूलो संख्यामा नेपाली मुलका धेरै नागरिकहरू लखेटिनुभयो । उनीहरूलाई नेपाली जनताले फूलमाला लगाएर स्वागत गरेका थिए, ‘फकिर्ने कोशिस गर्दा पनि भारत सरकारले बाटोमा सुरक्षा निकायहरू राखेर जान दिएन ।
हामी नेपाली र नेपाली मुलको भएको कारणले भुटान पुगेपनि पाँच पुस्तापछि नेपाली नागरिकलाई लखेट्ने काम गर्यो ।’ उक्त भेटघाट कार्यक्रममा सभामुख घिमिरेले विगतमा नेपालीहरूले भोग्नुपरेको निरंकुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै आएको उल्लेख गरे ।
‘विश्वका विभिन्न देशमा रहनु भएका नेपाली भाषीहरूलाई एक ठाउँमा ल्याउने काम मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले गरेको छ । यसको अर्थ के हो भने हामी जुन मुलकबाट ओरिजिन भयौं,’ सभामुख घिमिरेले भने, ‘त्यसको पहिचान हाम्रो संस्कार, हाम्रो भाषा र संस्कृति र साहित्यको संरक्षण गर्न सहयोग गर्छ । त्यसकारण सबैले मिलेर संसारभर रहनुभएका नेपालीहरूलाई गाँस्ने कुराको विकासमा आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’