निरंकुश बन्दै राजेन्द्र लिङदेन

काठमाण्डु टुडे २०८२ साउन ३ गते १४:०८ मा प्रकाशित

काठमाण्डू, ३ साउन– पूर्वपञ्चहरुको दलका रुपमा चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले निरंकुश र स्वेच्छाचारी चरित्र देखाउन थालेका छन् ।
उनले एकपछि अर्को गरी आफूसँग असहमत नेता कार्यकर्तामाथि कारबाही तीव्र पारेका छन् ।

उनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई बिहीबार मात्र पार्टीको केन्द्रीय सदस्यसमेतबाट पदमुक्त गरेका थिए । यसअघि महामन्त्री धवलशमशेर राणालाई संगठन विभाग प्रमुखबाट हटाए ।

यस्तै केही दिनअघि नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्ष र सगुनसुन्दर लावतीलाई प्रवक्ता र केन्द्रीय सदस्यबाट च्युत गरेका थिए ।

शनिबार प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठमार्फत विज्ञप्ति जारी गनर्ए लगाएर उनले आफूविरुद्ध नबोल्न र नलेख्न कार्यकर्ता पंक्तिलाई चेतावनी दिएका छन् । श्रेष्ठले नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा लेख्दा र मिडियामा बोल्दा ख्याल गर्न भनेका छन् ।

‘पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हित विपरीत हुने गरी सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा लिखित वा मौखिक रुपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै पनि क्रियाकलाप नगर्नु नगराउनु हुन पार्टीका सबै तहका नेता कार्यकर्तालाई अनुरोध गरिएको छ’, श्रेष्ठले भनेका छन् ।

लिङदेनको स्वेच्छाचारी कार्यशैली र कारबाहीविरुद्ध पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी तथा महामन्त्रीहरु धवलशमशेर राणा र कुन्ती शाही समूहका नेता कार्यकर्ताले विरोध जनाइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us