विद्या भण्डारीबारे केपी ओली र बाबुरामको विचार कसरी मिल्यो ?

काठमाण्डु टुडे २०८२ साउन ३ गते ८:२५ मा प्रकाशित

काठमाण्डू, ३ साउन– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर सक्रिय राजनीतिमा फर्किनु गम्भीर भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भट्टराईले भण्डारी र पुनको दलगत राजनीतिमा सक्रियताले संघीय लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्य, मर्यादा र दीगो स्थायित्वमा गम्भीर प्रश्न उठ्ने बताएका हुन् ।

भट्टराईको यो विचार प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीसँग ठ्याक्कै मिल्न जान्छ । ओलीले पनि भण्डारीको राजनीतिक सक्रियताले संविधान, गणतान्त्रिक प्रणाली, राष्ट्रपति संस्था तथा भण्डारीको व्यक्तित्वका लागि हानिकारक हुने तर्क ओलीले गरेका छन् ।

भण्डारी र पुन राजनीतिमा सक्रिय हुनु उनीहरुका निजी र दलगत सरोकारको विषयमात्र नभई राष्ट्रिय हित, गणतन्त्रको मर्म र शासकीय प्रणालीको चरित्रसँग गहिरो रूपमा जोडिने भट्टराईको तर्क छ ।

भट्टराईले संविधान र कानुनले पूर्वराष्ट्रपति/उपराष्ट्रपतिलाई राजनीतिमा सक्रिय हुन बन्देज नगरे पनि यो विषय नैतिक मूल्य, सार्वजनिक हित र अन्तर्राष्ट्रिय अभ्याससँग जोडिने उल्लेख गरे ।

छिमेकी भारतमा पनि राजेन्द्र प्रसाददेखि प्रणव मुखर्जी सम्मले राष्ट्रपतिबाट बिदा भएपछि सक्रिय राजनीति नगरेको दृष्टान्त उनले प्रस्तुत गरे । भट्टराईले भण्डारी र पुनजस्ता पुराना नेताभन्दा दूरदृष्टि भएका राजनेताको खाँचो मुलुकलाई रहेको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us