काठमाण्डू, २ साउन– गृहमन्त्री रमेश लेखकले प्रहरीलाई हतियारको ठाउँमा मिठाइ पठाएर अपराध नियन्त्रण नहुने बताएका छन । आज (शुक्रबार) राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री मन्त्री लेखेकले यस्तो बताएका हुन ।
उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हतियार आवश्यकता रहेकोले कानुन बमोजिमक हतियार किन्ने पनि जानकारी गराए । गृहमन्त्री लेखकले विभिन्न स्थानमा गोली नै चलाएर अपराध नियन्त्रणमा लिनुपरेको उदाहरण पेस गर्दै भने, ‘अपराधीलाई पुलिससँग हतियारै छैन भन्ने पर्यो भने, होला के ? त्यसैले आवश्यक हतियार चाहिन्छ, अनावश्यक किन्ने काम छैन ।’
प्रहरीलाई हतियार दिने कुरा शिक्षकलाई चक डस्टर दिएजस्तै, विद्यार्थीलाई कापी–किताब दिएजस्तै रहेको उनले बताए । उनले संविधान च्यात्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई उल्ट्याउने गतिविधिहरू भइरहँदा त्यसलाई न्यूनतम् शक्ति प्रयोग गर्नुपर्ने पनि बताएका छन ।
उनले भने, ‘हामीभन्दा पहिलाको पुस्ताले धेरै ठूलो बलिदान, त्याग, तपस्याले ल्याएको यो व्यवस्था, हाम्रो पुस्ताले यत्रो ठूलो लगानीबाट प्राप्त गरेको संविधान र व्यवस्थालाई नै समाप्त गर्ने र फेरि मुलुकलाई उल्टो दिशातर्फ फर्काउने खालका गतिविधिहरू भए ।’ उनले थपे, ‘यो संविधानलाई च्यात्ने, फाल्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई उल्ट्याउने र त्यसमा चाहिँ त न्यूनतम शक्तिको प्रयोग गर्नुपर्यो प्रहरीले। टियर ग्यास हान्नुपर्यो ।’
म्याद गुज्रिएको टियर ग्यास हतियार नकिनेकै भएर चलाउनुपरेको आशयको तर्क मन्त्री लेखकले गरे, ‘डेट एक्सपायर टियर ग्यास हान्यो भन्ने कुरा उठ्यो। अब टियर ग्यास नयाँ किनेन भने त डेट एक्सपायर हान्नुपर्ला नि,’ उनले भने, ’अनि डेट एक्सपायर हान्ने कि नयाँ किन्ने रु किन्नुपर्छ ।’ उनले आवश्यक हतियार कानुनबमोजिम र पारदर्शी ढंगले किन्ने बताए ।
‘यसलाई अन्यथा नलिनुहोला, खाली ठट्टैमा भनेको, अब मिठाइको बट्टा बोकेर जा भनेर प्रहरीलाई भनुँ, त्यो अपराधी मिठाइ खाएर कहिलेकाहीँ नमान्ने खतरा हुन्छ,’ उनले भने, ’कहिलेकाहीँ त हतियार बोकेर जानुपर्ने होला पुलिसले। मिठाइले काम चल्ने भए त्यही किनिन्थ्यो होला। कहिलेकाहीँ हतियार चाहिन्छ ।’ हतियार प्राथमिकता हो कि भौतिक पूर्वाधार दुवै विषय प्राथमिकतामा रहेको पनि मन्त्री लेखकको भनाइ थियो ।