काठमाण्डू, २ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे सडक संघर्षमा जान पनि तयार रहन पार्टीका नेता कार्यकता लाई आग्रह गरेका छन ।
आज (शुक्रबार) माओवादीको मुख्यालय पेरिसडाँडामा नेपाल मतदाता अधिकार मञ्चबाट निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझ्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, यस्ता माग र सुझावहरू नेताहरुलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन ।’ उनले थपे, ‘जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे हामी सडक संघर्षमा जान पनि तयार छौं। तपाईंहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोला । त्यसको तयारी गर्नुहोला ।’
प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको बताए । उनले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको स्मरण गराए । प्रचण्डले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको बताए ।
उनले भने, ‘मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन, ‘प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ।’ जनसंख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए ।
मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू प्रचण्डसमक्ष पेश गरेको छ ।