हामी मगन्ते होइनौं, १० वर्षभित्र संसारलाई पाल्नसक्ने अवस्थामा पुग्छौंः बामदेव गौतम

काठमाण्डु टुडे २०८२ साउन २ गते १६:३८ मा प्रकाशित

काठमाण्डू, २ साउन– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले १० वर्षभित्र समाजवाद निर्माण गरेर यूरोपका मुलुकको अवस्थामा पुग्न सक्ने दाबी गरेका छन । आज (शुक्रबार) काठमाण्डूको राष्ट्रिय सभामा एकीकृत समाजवादीसँग समाहित हुन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन ।

नेपालीहरू मागेर नभइ संसारलाई पाल्नसक्ने अवस्थामा पुग्ने पनि बताएका छन । उनले भने, ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद निर्माण गर्ने चरणमा छौं । त्यो भएपछि १० वर्षमा हामी यूरोपियन मुलुकको अवस्थामा पुग्नेछौं । हामी मागेर खाने अवस्थामा होइन कि अरुलाई दिने अवस्थामा पुग्नेछौं, ‘हामी संसारका मगन्ते होइनौं, संसारलाई पाल्नसक्ने अवस्थामा पुग्नेछौं ।

यो देश हाम्रो हो । यो देश हाम्रा पुर्खाले हामीलाई सुम्पेको हो । त्यही समाजवाद निर्माणका लागि सुम्पेको हो ।’ उनले आफू ४ वर्ष अघि नै एकीकृत समाजवादीमा आएको भए अहिलेसम्म समाजवाद सुरु भइसक्ने पनि बताएका छन ।

उनले भने, ‘४ वर्ष पहिला म आउन पाएको भए, यो समाजवाद निर्माण सुरु हुन्थ्यो । म लागेपछि समाजवाद सुरु हुन्छ । म एक्लै होइन, तपाईंहरूसँगै लाग्ने हो । एकपटक पार्टीले निर्णय गरेपछि हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us