काठमाण्डू, २ साउन– एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले महासचिव शंकर पोखरेलविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।
पोलिट्ब्युरो बैठकमा सहभागी हुन ललितपुरको च्यासलस्थित पार्टी मुख्यालय पुगेका थापाले सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलको गतिविधि र अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
उनले आगामी भदौ अन्तिममा हुने पार्टी विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदाबारे भर्खरै छलफल प्रारम्भ भए पनि पोखरेलले निर्णय नै भएजस्तो गरी प्रचार गरेको भन्दै आपत्ति जनाए ।
एमाले सचिवालय बैठकले बिहीबार ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने व्यवस्थासहितको प्रस्तावित विधान अधिवेशनको मस्यौदा पारित गरेको थियो ।
त्यसैलाई आधार बनाएर महासचिव पोखरेलले विधि निर्माणको अन्यौल हटेको तथा बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चितता भएको भन्दै शुक्रबार बिहान फेसबुकमा पोष्ट गरेका थिए । थापाले महासचिव पदको दुरुपयोग नगर्न र मर्यादा राख्न पोखरेललाई सुझाव दिए ।
‘महासचिवको स्टाटस गलत छ किनभने छलफल भइरहेको विषय निर्णय जस्तो गरी भन्नुभएको छ,’ थापाले भने, ‘यसरी पदको दुरुपयोग गर्नु हुँदैन । पदको मर्यादा राख्नुपर्छ ।’
अध्यक्ष र महासचिव जस्तो जिम्मेवारीमा रहेका व्यक्तिले कसैको पक्ष वा विपक्षमा लाग्न नमिल्ने तर्क उनको छ ।
थापाले सचिवालयबाट निर्णय भइसकेको भए विधान मस्यौदामा छलफल गर्न पोलिट्ब्युरो बैठक किन बोलाइएको भन्दै प्रश्न गरे ।
‘दुई चार जना बसेर गरेको निर्णय जबजले मान्दैन’, थापाले भने, ‘हिजै निर्णय भइसकेको भए आज किन छलफल गर्नुप¥यो त ?’ ।