छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ भन्ने शिक्षक विद्यालयबाट निकालिए

काठमाण्डु टुडे २०८२ साउन २ गते १४:३५ मा प्रकाशित

रौतहट, २ साउन– रौतहटको गरुडा नगरपालिका–१ मा रहेको श्री माध्यामिक विद्यालयले छात्राहरुमाथि यौनजन्य व्यवहार प्रदर्शन गरेको आरोपमा शिक्षक रवीन्द्रप्रसाद साहलाई निष्काशन गरेको छ ।

साहले गत साता आफ्नै विद्यालयकी १६ वर्षीया एक छात्रालाई ‘ह्पाप्पी बर्थ डे मेरी जान’ भन्दै मोबाइलमा म्यासेज पठाएर जन्मदिनको शुभकामना दिएका थिए ।

वडाध्यक्ष राजेशकुमार सहनीको उपस्थितिमा बसेको विद्यालय व्यवस्थापन समिति, राजनीतिक दलका प्रतिनिधि, अभिभावक र स्थानीयको बैठकले साहलाई विद्यालयबाट हटाउने निर्णय गरेको हो ।

४९ वर्षीय शिक्षक साहले छात्राहरुलाई यौनजन्य नियत राखेर मोबाइलमा म्यासेज पठाउने गरेको भन्दै यसअघि पनि विद्यालय प्रशासनमा उजुरी दिएका थिए । तर, त्यसबारे विद्यालय परिवारले सुनुवाई गरेको थिएन ।

पछिल्लोपटक शिक्षक साहले आफूलाई म्यासेज पठाएको विषयमा किशोरीले बताएपछि आक्रोशित विद्यार्थीले उनीमाथि कुटपिट प्रयास गरेका थिए । साहलाई प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रडिएसपी राजन कार्कीले जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us