काठमाण्डू, २ साउन– नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । आज (शुक्रबार) महासंघले काठमाण्डूमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न सरकारलाई अल्टिमेटम दिएको हो ।
‘संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरी कम्तीमा २१ साउन ०८२ अघि पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा छ । स्थानीय तह मातहत बस्न चाहँदैनन् शिक्षक, संविधान संशोधन नभई पूरा हुँदैनन् माग ऐन जारी नगरी राज्यले धोका दिएर आन्दोलनतर्फ धकेल्न खोजेको महासंघले दाबी गरेको छ ।
‘अहिलेसम्मको समग्र अवस्था विश्लेषण गर्दा राज्यपक्ष फेरि नेपाली शिक्षक–कर्मचारीलाई धोका दिन र आन्दोलन तर्फ धकेल्न उद्दत रहेको प्रतीत हुन्छ । यो अवस्थाको यथाशीघ्र अन्त्य हुन जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ । २१ साउनभित्र विधेयक प्रतिनिधिसभाबाट पारित नभएमा सशक्त आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।