पश्चिम रुकुममा जिप दुर्घटना हुँदा ७ जना घाइते

काठमाण्डु टुडे २०८२ साउन २ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, २ साउन– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन ।

त्रिवेणी गाउँपालिका– २ को बादँरपानी, रुघाहुँदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको जिप शुक्रबार सिम्रुतु बजार नजिकै दुर्घटनामा हुँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिएका छन ।

घाइते हुनेमा जिप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी–२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ का शिवकुमारी शर्मा रहेका उनले जानकारी दिए । घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरीचौकी सिम्रुतुले जानकारी दिएको छ ।

जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो । जिप चालकसहित १० जना यात्रु रहेका थिए । घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us