काठमाण्डू, २ साउन– एमाले महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको तथा बलियो नेतृत्वको सुनिश्चितता भएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन २०८४ का लागि बलियो नेतृत्व र एकताबद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’
पोखरेलले आगामी भदौ अन्तिम साता ललितपुरको गोदावरीमा तय भएको विधान महाधिवेशनबारे छलफल गर्न पोलिट्ब्युरो बैठक बस्नुअघि फेसबुकमार्फत आफ्ना धारणा राखेका हुन् ।
यसअघि बिहीबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विधान अधिवेशनमा सहभागी हुन रोक्ने गरी उपाध्यक्ष विष्णु पौडेलले तयार पारेको विधान मस्यौदा प्रतिवेदन पारित गरेको थियो ।
मस्यौदामा १०औं महाधिवेशनका प्रतिनिधिहरु मात्र विधान महाधिवेशनमा सहभागी हुन पाउने उल्लेख छ । एमालेको १०औं महाधिवेशन हुँदा भण्डारी राष्ट्रपति थिइन् । केन्द्रीय समितिले महाधिवेशन प्रतिनिधि मनोनयन गर्नुपर्ने भण्डारीको सार्वजनिक अपिललाई समेत एमालेले खारेज गरेको छ ।
एमाले उपमहासचव प्रदीपकुमार ज्ञवालीले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी विधानमा विधान महाधिवेशनका प्रतिनिधि मनोनित गर्ने व्यवस्था नरहेको बताएका छन् । उनले त्यसपछि अन्य पार्टीबाट आएर केन्द्रीय सदस्यको जिम्मेवारी पाएकाहरु समेत आयोजकका हैसियतमा मात्र अधिवेशनमा सहभागी हुन पाउने बताए ।
सचिवालय बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा हटाउने निर्णय गरेको छ । यस्तै पदाधिकारी १५ सदस्यीय र केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय रहने पनि निर्णयमा छ ।
यस्तै वरिष्ठ उपाध्यक्षको व्यवस्था विधानबाट हटाइएको छ । सचिवालयको व्यवस्था हटाएर स्थायी कमिटीमा पदाधिकारी मात्र रहने व्यवस्था प्रस्ताव गरिएको छ ।