काठमाण्डू, २ साउन– एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेटेकी छन् ।
कोइराला भण्डारी भेट्न शुक्रबार बिहान बुढानीलकण्ठस्थित उनको निवास पुगेका थिए । एमाले सचिवालय बैठकले भण्डारीका लागि राजनीतिमा फर्कने सम्भावित ढोका बन्द गर्ने गरी विधान मस्यौदा पारित भएको भोलिपल्ट दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।
करिब आधाघण्टासम्म चलेको भेटमा भण्डारीले सक्रिय राजनीतिमा आउन लागेको भन्दै सहयोग गर्न कोइरालालाई आग्रह गरेकी थिइन् । श्रोतका अनुसार कोइरालाले भण्डारी सक्रिय राजनीतिमा फर्कनुलाई आफूले सकारात्मक रुपमा लिएको बताएका थिए ।
‘तपाईं राजनीतिमा आउनु धेरै राम्रो कुरा हो । यसमा धेरै सदासयता रहन्छ’, कोइरालाको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो ।
काँग्रेस सभापति शेरबहादुर देउवाले भने भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नखिने प्रधानमन्त्री ओलीलाई सुझाव दिइसकेका छन् ।
भण्डारी राजनीतिमा फर्कनु गणतन्त्र, संविधान र वर्तमान प्रणालीकै खिलाफ हुने देउवाको भनाइ छ ।
कोइरालाले यसअघि बिहीबार माओवादी केज्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए ।
भण्डारी र कोइरालाले सरकारले एक वर्षमा जनअपेक्षाअनुसार काम नगरेको, भ्रष्टाचार नियन्त्रणमा चुकेको तथा संविधान संशोधनको दिशामा कुनै प्रगति नभएको साझा निष्कर्ष निकालेका थिए ।