देउवा सबैभन्दा निकट र विश्वासिला, प्रचण्ड सबैभन्दा धोकेबाजः ओली

काठमाण्डु टुडे २०८२ साउन १ गते १६:१५ मा प्रकाशित

काठमाण्डू, १ साउन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सबैभन्दा निकट र विश्वासिलो सम्बन्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रहेको खुलासा गरेका छन । वरिष्ठ पत्रकार विजय कुमारसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यस्तो खुलासा गरेका हुन ।

यसैगरि, प्रधानमन्त्री ओलीले पूर्वसहकर्मी तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भने उनले ‘धोकेबाज’ का रुपमा चित्रण गरेका छन । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आफ्नो विरोधी नै नभएको जिकिर गर्दै ओलीले आफ्नो मुख्य राजनीतिक प्रतिस्पर्धी नेपाली कांग्रेस नै भएको उल्लेख गरे। ओलीले अन्तर्वार्तामा भनेका छन, ‘प्रतिस्पर्धा नेपाली कांग्रेस र हाम्रो बिचमा छ, ‘तर मेरो सबभन्दा निकट सम्बन्ध शेरबहादुर देउवाजीसँग छ, विश्वासको सम्बन्ध छ ।’

उनले आफ्नो तर्फबाट देउवासँगको सम्बन्ध सधैँका लागि रहने तर देउवाले अन्यथा गरेमा परिस्थिति फरक हुन सक्ने संकेत गरे ।दाहालसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘स्वर्ग जाने, नर्क जाने सम्बन्ध थियो । उहाँले पनि धेरै पल्ट भन्नुभएको हो, धेरै पल्ट धोका दिनुभएको हो ।’ उनले दाहालसँग पटक–पटक लिखित सहमति भए पनि ती अर्थहीन भएको ओलीले बताए ।

आफ्ना विपक्षीहरूप्रति निर्मम भएको भन्ने आरोपलाई अस्वीकार गर्दै ओलीले आफू प्रतिस्पर्धामा उत्रिने तर व्यक्तिगत रूपमा कसैप्रति त्यस्तो नभएको उल्लेख गरे । आफ्नो कमजोरीबारे सोधिएको अर्को प्रश्नमा उनले आफूले मानिसहरूलाई सजिलै विश्वास गर्ने र कहिलेकाहीँ धोका खाने गरेको स्वीकारे। उनले आफूलाई घेर्ने मानिसहरू (सर्कल) छनोट गर्न नआएको भन्ने कुरालाई भने अस्वीकार गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us