ओलीको निशानामा ईश्वर पोखरेल, पदनै हटाउने तयारी

काठमाण्डु टुडे २०८२ साउन १ गते १५:१८ मा प्रकाशित

काठमाण्डू, १ साउन– सत्ता घटक दल एमालेले केन्द्रीय कमिटिमा बरिष्ठ उपाध्यक्ष पदलाई उठाउने तयारी गरेको छ । एमालेले जनसंगठनहरूमा जस्तै वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारी सुरु गरेको हो । उक्त पद हटाउने गरि आज (बिहीबार) एमालेको मुख्यालय च्यासलमा सुरु भएको सचिवालय बैठक ठोस प्रस्ताव लगिएको स्रोतले जानकारी दिएको छ ।

एमालेका एकजना पदाधिकारीले हाल ईश्वर पोखरेलले जिम्मेवारी लिइरहेको वरिष्ठ उपाध्यक्ष पद भदौ २०–२१ र २२ मा हुने एमालेको विधान महाधिवेशनबाट हटाउने गरि प्रस्ताव लैजान लागिएको हो । त्यसकै लागि बिहीबारको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाका प्रस्तुत गर्दैछन् ।

उता अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिवले शंकर पोखरेलले विधान महाधिवेशनमा पेश गर्न तयार गरिएको सांगठनिक प्रतिवेदनको खाका पेश गर्ने तयारी छ । पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्ने निर्णय एमालेले यसअघि नै गरिसकेको छ ।

गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीको कडा शब्दमा आलोचना गरेका थिए । संयोगवश, उनले ओलीको आलोचना गरेको एक महिना पनि नबित्दै एमालेले जनसंगठनमा पनि वरिष्ठ उपाध्यक्ष नराखिएकाले अब पार्टीमा पनि त्यही कार्यान्वयनको योजना ल्याउन लागेको हो । विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्दैछ । तीनवटै प्रस्तावलाई बिहीबारको सचिवालय बैठकबाट अघि बढाएर एमालेले पोलिटब्युरो र केन्द्रीय कमिटीबाट पास गर्दै विधान महाधिवेशनमा लैजानेछ ।

सचिवालय बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन । यसअघि गत असार ११ गते एमालेको ५३ औँ सचिवालय बैठक बसेको थियो । त्यसको तीन दिनपछि भएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पोखरेलले ओलीलाई घेरेका थिए ।

पोखरेलले गरेको आलोचना सेलाउन नपाउँदै आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीको सनराइज हलमा हुने विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारी एमालेले गरेको हो ।

यदि ७० वर्षे उमेर हद हटेको अवस्थामा एघारौँ महाधिवेशनमा पनि वरिष्ठ उपाध्यक्षमा पोखरेल दोहोरिन सक्ने करिब निश्चित छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूलाई सहयोगभन्दा धेरै आलोचना र चुनौती दिएपछि ओलीले उक्त पद हटाएर अब उपाध्यक्ष मात्रै राख्ने योजना ल्याएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us