काठमाण्डू, १ साउन– जनाता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई छुट हुने बताएका छन । पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन । उनले भ्रष्टाचारको आरोप लागेका मन्त्रीहरूप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।
‘ढुक्क हुनुस्, भूमि मन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जो गर्न पनि छुट छ’, यादवले लेखेका छन् । उनले सामान्य प्रशासन मन्त्री रहेका राजकुमार गुप्तालाई भने मधेस मूलका भएकै कारण राजीनामा दिन बाध्य पारेको तर भूमिमन्त्री बलराम अधिकारीलाई जोगाएको संकेत गरेका हुन् ।
‘सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेस मूलका थिए र उनलाई राजीनामा दिन बाध्य पारियो’, यादवले भनेका छन्, ‘बिचौलिया, कमिसनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठुलो काण्ड गरे नि ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।’
अधिकारीको ठाउँमा कुनै मधेसी,थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए प्रधानमन्त्रीले नछोड्ने पनि यादवको भनाइ छ । बलराम अधिकारीको ठाउँमा कुनै मधेसी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन्’, यादवको भनाइ छ ।