काठमाण्डू, १ साउन– आफुलाई सामाजिक अभियान्ताका रुपमा चिनाउँदै आएका युवराज सफलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन ।
सफलले रास्वपाको नाममा परेको स्वतन्त्र शब्द हटाउन माग गर्दै आयोगमा उजुरी दिएका हन्। सफलले ‘स्वतन्त्र’ शब्द जोड्नुले स्वतन्त्र उम्मेदवारहरूको पहिचान र अधिकारमाथि प्रहार भएको तर्क गरेका छन्। ‘कुनै पनि राजनीतिक दल निश्चित विचार, सिद्धान्त र कार्यक्रममा आधारित हुन्छ। तसर्थ, दल आफैँमा स्वतन्त्र हुन सक्दैन।
यो शब्दले आम मतदातामा भ्रम छरेको छ र स्वतन्त्र उम्मेदवारहरूको हक खोसेको छ,’ निवेदनमा भनिएको छ। यस्तै, निवेदनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रति पनि गम्भीर आपत्ति जनाइएको छ। ‘घण्टी’ नेपालका बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीहरूको आस्था र विश्वाससँग जोडिएको धार्मिक प्रतीक भएकाले यसलाई राजनीतिक दलको चुनाव चिह्न बनाउनु धार्मिक मान्यतामाथिको प्रहार भएको सफलको जिकिर छ ।
‘हिन्दु धर्मावलम्बीले पूजापाठमा प्रयोग गर्ने पवित्र घण्टीलाई चुनाव चिह्न बनाएर यसको राजनीतिक दुरुपयोग गरियो,’ निवेदनमा उल्लेख छ, ‘धर्म निरपेक्ष मुलुकमा कुनै एक धर्मको आस्थाको प्रतीकलाई दलको चिन्ह बनाउन मिल्दैन।’