सरकारका गुण र दोषको जिम्मेवारी दुवै पार्टीले लिनुपर्छः नेता सिटौला

काठमाण्डु टुडे २०८२ असार ३२ गते १७:४८ मा प्रकाशित

काठमाण्डू, ३२ असार– कांग्रेस नेता एवं राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने तर्क गरेका छन ।

आज (बुधबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन । उनले सरकारले केही राम्रा कामहरू गरे पनि सबै काम गर्न नसकेको बताए ।

उनले सरकारले गरेका गुण र दोषहरू नेपाली कांग्रेस र नेकपा एमाले दुवै राजनीतिक दलहरूले लिनुपर्ने पनि बताएका छन । सरकारले जनताको हितमा कामहरू गर्दै जानुपर्नेमा जोड दिंदै उनले भने, ‘अहिले देशमा नेपाली कांग्रेस र एमालेको सरकार छ ।

एमालेको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । यो सरकारका गुण दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ ।’ सांसद सिटौलाले थपे, ‘हामीले केही राम्रा काम गरेका छौँ, सरकारमार्फत, केही गर्न सकेका छैनौँ, गर्दै गरेका छैनौँ त्यो पनि होइन, सबै गरेका छौँ त्यो पनि होइन ।’

शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै उनले भने, ‘शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी छ । त्यो विशेष जिम्मेवारी हामीले निर्वाह गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us