काठमाण्डू, ३२ असार– तल्लोबाटो हुँदै अमेरिका पुगेका थप १९ जना नेपाली डिपोर्ट भएका छन् । २५ जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एकरदुई जना नेपाली डिपोर्ट भएर आइरहेको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिएका छन । उनका अनुसार, त्यसपछिको अवधिमा १९ जना डिपोर्ट भएर आइसकेको विवरण विभागसँग छ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले कडा अध्यागमन नीति अख्तियार गरेको थियो । त्यसपछि सामान्य कसुरमा पक्राउ परेका केही व्यक्ति पनि डिपोर्ट भएका छन् । नेपाल आएका अधिकांश चाहिँ तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरु छन् । ट्रम्प निर्वाचित भएयता मात्र अमेरिकाबाट डिपोर्ट हुनेको संख्या १९७ पुगिसकेको छ ।
डिपोर्ट भएर आएकाहरुले आफूहरुलाई अवैध रुपमा अमेरिका पठाउने गिरोहबारे सूचना दिन्छन् कि भन्ने हिसाबले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विमानस्थलमै सोधपुछ गरेको थियो । तर, ३७ जनाले नै प्रहरी कहाँ कुनै किसिमको सूचना दिएनन् । बरु भोलिपल्ट आउने भन्दै राति छुटेका उनीहरुले प्रहरीलाई सम्पर्कसमेत गरेनन् ।
‘मानव तस्करीमा संलग्न गिरोहबारे अनुसन्धान अघि बढाउनलाई सहयोगी हुन्छ भन्ने उद्देश्यले सोधपुछ गर्ने हो’, ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनी भन्छन्, ‘उहाँहरूबाट प्राप्त सूचनाका आधारमा विस्तृत अनुसन्धान गर्ने उद्देश्य थियो ।’
ब्यूरोमा लामो समयदेखि काम गरिरहेका एक अनुसन्धान अधिकारीका अनुसार, उनीहरूलाई तल्लो बाटोबाट अमेरिका पठाउने व्यक्ति गाउँघरका चिनजानकै व्यक्ति हुने र फेरि विदेश पठाइदिने आश्वसन दिने हुँदा उजुरी गर्न मान्दैनन् ।