मन्त्रीहरु भ्रष्टाचार र घुसमा तल्लिन छन्, अनुहार छोपेर हिँड्न बाध्य छौंः राजेन्द्र बजगाईं

काठमाण्डु टुडे २०८२ असार ३१ गते १५:१४ मा प्रकाशित

काठमाण्डू, ३१ असार– सत्ता घटक दल कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुकमा चरम ऋणमा डुबिरहेको भन्दै विजयको गर्जन गर्न लाज हुने बताएका छन । सरकारका मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिनमा रहेको भन्दै उनले सांसद र नेताहरु अनुहार छोपेर हिँड्न बाध्य भएको पनि बताएका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद बजगाईंले यस्तो बताएका हुन । उनले भने, ‘अनुहार छोपेर हिँड्न बाध्य छौं, धेरै मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन छन्, यो मैले पहिले नै देखाएको थिएँ ।’ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईंले शान्ति प्रक्रिया यता मुलुकको ऋणभार ९७ अर्ब पुगेको पनि बताए ।

उनले भने, ‘०६२–०६३ पछि प्रदेशहरु विकासको इन्जिन हुनुभन्दा बोझ हुन थालेको छ, मुलुकको सार्वजनिक ऋण कूल २.६११ ट्रिलियन पुगेको छ, उनले जुन जीडीपीको ४७.७७ प्रतिशत हो, यसमा ९७ अर्ब नयाँ ऋण थपियो ।’

श्रम पलायन तीब्र भएको बताउँदै उनले मुलुकको अवस्थाले युवा शक्ति विदेश जान बाध्य भइरहेको बताए । उनले भने, ‘जब हामी गर्छौं, सक्छौं भन्दै अगाडि बढ्ने प्रयास गर्छौं, धेरै यहाँ भ्रष्टाचार, घुस र ठगीको प्रणालीमा नाचिरहेको देख्छौं, बोल्नेको गला अवरुद्ध भएका छन् ।’

आजको राजनीतिक परिदृश्यमा सरकारभित्र होस् वा बाहिर, पुराना वा नयाँ दलहरुबीच राष्ट्रिय हितका साझा एजेन्डामा सहकार्यको स्पष्ट अभाव देखिएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us