‘भ्रष्टाचारीको मुख हेर्दिन’ भन्ने ओलीलाई गिज्याउने यो तस्बिर

काठमाण्डु टुडे २०८२ असार ३१ गते ९:०८ मा प्रकाशित

काठमाण्डू, ३१ असार– भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्ति र मालपोत प्रमुखको सरुवा थमौतीका लागि ७८ लाख रुपैयाँ घूस डिल गरेका मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीमाथि सर्वत्र दबाब छ ।

सत्ता र प्रतिपक्षी सांसद्, सञ्चार माध्यम, सामाजिक सञ्जाल र नागरिक समाजले मन्त्री गुप्तलाई बर्खास्त गर्न सुशासन समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीमाथि दबाब दिँदै आएका छन् ।

घूस डिल गरेको अडियो सार्वजनिक भइरहँदा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पार्टी कामको सिलसिलामा गृहजिल्ला झापा पुगेका थिए ।

ओली झापाबाट फर्किएपछि मन्त्री गुप्तालाई बोलाएर सोधपुछ गर्ने उनको सचिवालयले बताएको थियो । ओली आइतबार झापाबाट फर्किए । तर, गुप्ताले घटाएको काण्डाबारे जानकारी लिनसमेत आवश्यक ठानेनन् ।

चौतर्फी विरोधपछि सोमबार लोकलाजका लागि ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए । करिब डेढ घण्टासम्म उनीहरुबीच के कुरा भयो भन्नेबारे प्रधानमन्त्री र मन्त्री गुप्ताको पक्षबाट सार्वजनिक गरिएन ।

धेरैले ओलीले विवादित मन्त्री गुप्ताको राजीनामा माग्ने वा बर्खास्त गर्न सक्ने आँकलन गरेका थिए । तर, ओलीले न त राजीनामा मागे, न त बर्खास्ती नै । जुन कुरालाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ताको उपस्थितिले पुष्टि गर्छ ।

प्रधानमन्त्री ओलीले पटकपटक ‘भ्रष्टाचारीको मुख हेर्दिन’ र ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्दै आएका छन् । खुलेआम घूस डिल गेरका मन्त्री गुप्ता मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुले ओलीको उक्त प्रतिबद्धतामा आशंका गर्ने ठाउँ दिएको छ ।

मन्त्रिपरिषद बैठकमा ओलीले मन्त्री गुप्ताको मुख हेरेकी हेरेनन् ? आमनागरिक र सामाजिक सञ्जाल प्रयोगकर्ताको प्रश्नको जवाफ अनुत्तरित नै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us