बिचौलियाहरु मन्त्री निवासमा ‘ब्रिफकेस’ बोकेर जान्छन्ः शेखर कोइराला

काठमाण्डु टुडे २०८२ असार ३१ गते ८:४२ मा प्रकाशित

काठमाण्डू, ३१ असार– सत्तारुढ काँग्रेस नेता डा. शेखर कोइरालाले बिचौलियाहरु मन्त्री निवासमा एकाबिहानै ब्रिफकेस लिएर जाने गरेको बताएका छन् ।

कोइरालाले सामाजिक सञ्जालमार्फत सरकारमाथि कटाक्षा गरेका हुन् । उनले भूमि आयोग कास्कीको जिल्ला अध्यक्ष नियुक्ति र मालपोत प्रमुखको सरुवा थमौतीका लागि ७८ लाख रुपैयाँ घूस डिल गरेका मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा सहभागी गराएकामा आपत्ति जनाए ।

सत्ता र प्रतिपक्षी सांसद्, सञ्चार माध्यम, सामाजिक सञ्जाल र नागरिक समाजले मन्त्री गुप्तलाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीमाथि दबाब दिँदै आएका छन् । लोकलाजका लागि ओलीले सोमबार विवादित मन्त्री गुप्तालाई बालुवाटार बोलाएका थिए ।

ओलीले गुप्तलाई बर्खास्तीको जानकारी वा राजीनामा माग्ने आमआँकलन थियो । त्यसविपरीत मन्त्री गुप्ता सोमबार साँझ मन्त्रिपरिषद बैठकमा सहभागी भए ।

कोइरालाले सरकारका मन्त्रीले घूस डिल गरेको प्रकरण छताछुल्ल हुँदा सरकारको प्रमुख घटक काँग्रेस ‘साक्षी किनाराको सदर’ बसेको टिप्पणी गरे ।

‘यस्तै रहेछ यहाँको चलन । मन्त्रीक्वाटरमा बिहानै आएर बिचौलियाले घूसको ‘ब्रिफकेस’ छाड्छन् । आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्’, कोइरालाले लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने साक्षी किनाराका सदर भएका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us