रविको पक्षमा हस्ताक्षर: सबैभन्दा बढी गण्डकी प्रदेशमा

काठमाण्डु टुडे २०८२ असार ३० गते १७:२८ मा प्रकाशित

काठमाण्डू, ३० असार– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केहि समय यता सञ्चालन गरेको हस्ताक्षर अभियानबाट अहिलेसम्म चन्दास्वरूप ४४ लाख रुपैयाँ सङ्कलन भएको छ । यस्तै पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ ।

अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको लामिछानेका सहयोगी प्रमोद न्यौपानेले जानकारी दिएका छन । उनले भने, ‘अहिलेसम्म हाराहारी २० लाखभन्दा धेरै हस्ताक्षर सङ्कलन भएको छ, ‘अझै बढेको हुन सक्छ । यो मैले दिएको तथ्याङ्क तीन दिन अगाडिको हो । हस्ताक्षरका सबै फारमहरू सङ्कलन गरेर अद्यावधिक गर्न समय लाग्ने हुन्छ। अभियान जारी छ, अद्यावधिक पनि जारी छ ।’

उनका अनुसार प्रदेशगत रूपमा ९ लाख ४० हजार हाराहारीको सङ्ख्यामा हस्ताक्षर सङ्कलन भएको छ। ‘कोशीमा १ लाख ६६ हजार, मधेसमा ३६ हजार, बागमतीमा २ लाख १३ हजार, गण्डकीमा २ लाख ६० हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कर्णालीमा ३८ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, ‘बाँकी हस्ताक्षर सबै केन्द्रीय कार्यालयमा सङ्कलन भएका हुन् ।’

यस्तै अहिलेसम्म चन्दास्वरूप ४४ लाख रुपैयाँ सङ्कलन भएको पनि उनले जानकारी दिए । ‘यो जोड–जबरजस्ती गरेर होइन, हस्ताक्षर गर्नेहरूले स्व–इच्छाले दिनुभएको हो, न्यौपानेले भने । उनले अरु पार्टीहरूले पनि विभिन्न स्वरूपमा चन्दा लिइरहेको बताए । आफूहरूले चन्दा लिएको विषयलाई विवादको विषय बनाउन खोजिएको उल्लेख गर्दै उनले भने, ‘हामीले गर्दा नहुने तर, अरुले गर्दा हुने भन्ने नहोला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us