कांग्रेस पनि ओलीको स्वर्ग र नर्कको चक्करमा पर्‍योः प्रचण्ड

काठमाण्डु टुडे २०८२ असार ३० गते १५:२२ मा प्रकाशित

काठमाण्डू, ३० असार– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता घटक दल कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको बताएका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदमको कांग्रेस साक्षी मात्र बन्न पुगेको प्रचण्डले आरोप समेत लगाए ।

अध्यक्ष प्रचण्डले भने, ‘संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस। एकपछि अर्को स्वेच्छारिताका शृङ्खलाहरू जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ ।’

प्रचण्डले अप्राकृतिक गठबन्धन, कुशासन र सत्ताका अहंकारी प्रवृत्तिले लोकतन्त्रलाई संकटमा पार्ने चेतावनी आफूले पहिल्यै दिएको स्मरण गराए । उनले भने, ‘सत्ता सञ्चालनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्ने हाम्रो प्रयासलाई अस्थिरता ठान्नु तपाईंहरुको दृष्टिकोण हो, तर लोकतन्त्रको नाममा आज जुन बाटो रोजिएको छ, त्यसले तपाईंहरूको राजनीतिक ग्राफ झनै खस्किएको छ ।’

उनले थपे, ‘गठबन्धन बन्ने परिस्थिति र सरकारको नेतृत्वको प्रवृत्ति हेरेर मैले त्यतिबेलै भनेको थिएँ । हजारौँ योद्धाहरुको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रमा संकट चिहानमा मिल्काइएका पात्र र प्रवृत्तिबाट छैन, यदि संकट आउँछ भने यही सरकारको रवैयाबाट आउनेछ ।‘

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us