काठमाण्डू, २९ असार– लायन्स इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई नेपाल, एरिया ६ रिजन १४, जोन ३२ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाण्डू टेम्पल गणेश द्वारा प्लास्टिक झोलाको बिकल्पमा, वातावरण मैत्री कपडाको झोला बनाउने एकहप्ते सिपमुलुक तालीम तथा ‘एक घर एक बिरुवा अभियान’ अन्तर्गत ‘नयाँ पाईला समाज नेपाल’ का दिदीबहिनीहरुलाई फलफूलको बिरुवा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
डिष्ट्रीक्ट चिफ एडभाईजर लायन बिष्णु भण्डारीको प्रमुख आतिथ्यतामा र डिष्ट्रीक्ट युथ एण्ड वूमन इम्पावरमेन्ट चिफ लायन अनुज कुमार श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब टेम्पल गणेशका संस्थापक अध्यक्ष एवं डिष्ट्रीक्ट एडमिनिस्ट्रेटर लायन बिना थापा ज्यू, डिष्ट्रीक्ट कोअर्डिनेटर लायन अनिता थापा बिष्टको उपस्थिति रहेको थियो ।
समापन समारोहका प्रमुख अतिथि डिष्ट्रिक्ट चिफ एडभाइजर लायन बिष्णु भण्डारीले कार्यक्रमको उच्च प्रशंसा गर्दै भने, ‘प्लास्टिकको प्रयोग न्यूनीकरण र आत्मनिर्भरता दुवैका लागि यस्ता तालिमहरू महत्वपूर्ण छन् । क्लबलाई यस्ता गतिविधि निरन्तर सञ्चालन गर्न सुझाव र धन्यवाद दिन चाहन्छु ।’ विशेष अतिथि डिष्ट्रिक्ट युथ एण्ड वुमन इम्पावरमेन्ट चिफ लायन अनुज कुमार श्रेष्ठले तालिमलाई सीप सिकाइमा मात्र सीमित नराखी पेसागत रूपमै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
श्रेष्ठले सहभागी महिलाहरूको उत्साहको प्रशंसा गर्दै भने, ‘सहभागी प्रशिक्षार्थीहरु प्रति लायन्स क्लब डीष्ट्रीक्ट ३२५ आई सदैव सकारात्मक छ । यदि एडभान्स तालीमको लागि तत्परता देखाएको खण्डमा आफूले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दछु । यसका साथै महिला उध्यमीहरुद्दारा तयार गरिएका कपड़ाका झोलाहरुको बजारीकरणका लागि डिष्ट्रीक्टको तर्फबाट सक्दो पहल हुने छ ।’ कार्यक्रममा लायन्स क्लब अफ टेम्पल गणेशका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट एडमिनिस्ट्रेटर लायन बिना थापाले नयाँ पाइला समाज नेपालका महिलाहरूले थप तालिमको माग गरेमा क्लब सधैं तयार रहने प्रतिबद्धता जनाए ।
तालीममा सहभागी प्रशिक्षार्थीहरुलाइ प्रमुख अतिथि बिष्णु भण्डारी र विशेष अतिथि बिना थापा ज्यू बाट प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा लायन्स क्लक अफ काठमाण्डू टेम्पल गणेशका अध्यक्ष लायन तृष्णा थापा र लायन्स क्लब अफ काठमाण्डू बालकुमारी सांङ्ग्लाका सदस्य लायन राजन थापाको नेतृत्वमा ॐ समाज अस्पतालका अध्यक्ष डा.सुभाष घिमिरेको संयुक्त सहकार्यमा ‘नयाँ पाईला समाज नेपाल’ का सदस्यहरुलाई ॐ अस्पतालमा निशुल्क चेकजाँच साथै १५ देखि २० प्रतिशतसम्म उपचार शुल्क छुट सम्बन्धि सम्झौतामा हस्ताक्षर गरिएको आयोजक लायन्स क्लब अफ काठमाण्डू टेम्पल गणेशका सचिव दिपशीखा शर्माले जानकारी दिइन् ।