काठमाण्डू, २९ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको दाबी गरेका छन ।
आज (आइतबार) झापामा एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भने, ‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन ।’
उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरेको समेत बताए ।
उनले थपे, ‘तर पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाए ।’ पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरूले हराउन नसक्ने जिकिर गरे । उनले पार्टीभित्र र बाहिरबाट भइहेका षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो ।’ ओलीले थपे, ‘एमालेविरुद्ध जाल बुन्नेहरु सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैंसी पर्दैन । हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन ।’
आफू र एमालेले कहिल्यै भ्रष्टाचार नगर्ने ओलीको जिकिर थियो । ‘केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन,’ उनले भने, ‘हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन ।’