काठमाण्डू, २९ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको भनेर आएका समाचारको विषयमा सरकारसँग स्पष्ट जवाफको माग गरेको छ ।
आज (आइबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसस एवं पूर्व मन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।
उनले भनिन्, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ?’ ‘सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्मा जानकारी गराउन अनुरोध गर्न चाहान्छु सभामुख मार्फत् ।’ यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग पनि उनले गरिन् ।
‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहान्छु,’ शर्माले भनिन् । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद शर्माले घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमाको हकमा रेफरल सेन्टर बनाइएकोमा पनि आपत्ति जनाइन् ।
उनले भनिन्, ‘आफ्नो आँगनको हस्पिटल छोडेर २४–२५ किलोमिटर टाढा रिफर गराउन जानुपर्ने अवस्थामा पुर्याइएको छ, यसको निम्ति म विरोध गर्दछु, दुस्ख प्रकट गर्दछु र म तुरुन्तै सभामुख मार्फत् सरकारले यो निर्णय तत्काल सच्याओस् भनेर गम्भीर ध्यानाकर्षण गराउँछु । बीमित बिरामीलाई थप कष्ट दिने काम नगरियोस् ।’