स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियोः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८२ असार २९ गते १३:०४ मा प्रकाशित

काठमाण्डू, २९ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अनावश्यक हल्ला चलाएको दाबी गरेका छन ।

आज (आइतबार) झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले विरोधी र अराजक तत्त्वले अरू कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको पनि बताए ।

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।

प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए ।

प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण हुने घोषणा पनि गरे । उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजना बमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसईईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us