काठमाण्डू, २९ असार– राप्रपाको अनुशासन समिति अध्यक्षबाट पदमुक्त भएका नेता एवं राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले न्याय माग्नका लागि आफू निर्वाचन आयोग आएको बताएका छन ।
आज (आइतबार) निर्वाचन आयोग पुगेका संयोजक सुवेदीले आफु निर्वाचन आयोज न्याय माग्न आएको बताएका हुन । राजेन्द्र लिङ्देन इतरका गुटका नेताहरूलाई दायाँबायाँ लगाएर आइतबार उनी आयोगमा उजुरी दिनका लागि पुगेका थिए ।
आयोगमा उनीसँगै निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, प्रवक्ताबाट निकालिएका सगुन लावती, महामन्त्री कुन्ती शाही, उपाध्यक्ष विक्रम पाण्डेलगायत गुटका दर्जनौँ नेताहरू पुगेका हुन् । आयोगमा उनले आफूलाई विधानविपरीत अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन आयोग अध्यक्षबाट हटाएको दाबीसहित लिखित उजुरी पेस गरेका छन् ।
उजुरी दिएसँगै बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सुवेदीले पार्टीभित्र आफूप्रति अन्याय भएकाले आयोगमा औपचारिक उजुरी दिएको बताए । पदबाट हटाइएकोबारे आफूलाई जानकारी नदिइएको उल्लेख गर्दै उनले आफूले सबै विषय सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको पनि बताए ।
‘हटाउनुअघि मलाई केही सोधिएको छैन, चिठी लेखिएको पनि छैन’ सुवेदीले भने, ‘उहाँ (राजेन्द्र लिङ्देन)ले मलाई निकालेर अर्को मान्छे ल्याउनु भएको रहेछ भन्ने कुरा मिडियाबाट मात्र थाहा पाएँ। त्यसैले म आयोगमा उजुरी दिन आएको हुँ,’ उनले भने । सुवेदीले पार्टीभित्र अनेक षड्यन्त्र भइरहेको दाबी गर्दै आफूले त्यसविरुद्ध आवाज उठाएको बताए।
‘म त पार्टीमा अन्याय हुन लाग्यो भनेर त्यसको विरोध स्वरूप आएको हुँ’ उनले भने, ‘पार्टी फुटोस् भन्ने चाहना होइन, षड्यन्त्र नहोस् भन्ने चाहना हो।’ उनले आफूले संयुक्त जनआन्दोलन समिति घोषणा हुँदा राप्रपा परित्याग गरिसकेको भनेर कहीँकतै नभएको दाबी गरे । उनले त्यतिबेलाको आफ्नो अभिव्यक्तिको केही अंश काटछाँट गरेर प्रचार गरिएको आरोप समेत लगाए ।
‘मैले भाषणमा संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि जे गर्न पनि तयार छु भनेको थिएँ, पद छाड्न परेपनि छाडौँला भनेको थिएँ। तर, भाषणको अघिपछि हटाएर जे सुविधा लाग्यो त्यही मात्रै बाहिरियो,’ सुवेदीले भने । उनले राजा फर्काउने आन्दोलन निरन्तर चल्ने समेत दाबी गरे ।