दाङ, २९ असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ वेलनदीमा आइतबार बिहान यात्रुबस दुर्घटना भएको छ ।
काठमाण्डूबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश–०२–००१ख००४ नम्बरको बस वेलनदी गुडिरेहका बेला बिहान चार बजेको समयमा अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा २६ यात्रु् घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुटवलस्थित अस्पतालमा सिफारिस गरिएको छ ।
गम्भीर घाइते हुनेमा सल्यानका ७७ वर्षीय देवी बुढाथोकी, ५६ वर्षीय मोहनलाल बुढाथोकी र दाङका ३५ वर्षीय श्रीधर अधिकारी छन् । अन्य २१ जना घाइतेको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय गोरुसिङ्गे र ट्राफिक प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर घाइतेको उद्दार गरेको थियो ।