काठमाण्डू, २८ असार– नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले वर्तमान कांग्रेस–एमाले नेतृत्वको सरकारलाई पूर्ण रूपमा असफल भएको तर्क गरेका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित साक्षात्कारमा माओवादी सांसद दाहालले यस्तो बताएका हुन । उनले भने, ‘ओली शासनको एक वर्ष पूरा हुँदैछ ।
यो सरकारको धरातल बिचौलियाको दबाब र प्रभावमा बनेको सरकार हो भनेर हाम्रो अध्यक्ष प्रचण्डले संसद्को रोष्ट्रममै उभिएर भन्नुभएको थियो । मूलतः यसले भ्रष्ट, बिचौलिया र माफियाहरूको सेवा गर्छ, माफियाप्रति उत्तरदायी हुन्छ । यो कुरा सुरकै दिनमा भनेका थियौँ ।’
उनले ओली सरकारको एक वर्षको समीक्षा गर्दै यसले बेथिति, अराजकता, अनियमितता, भ्रष्टाचार र कुशासनमा पिएचडी गरेको टिप्पणी गरे । उनले भने,‘यो सरकारको एक वर्ष पूरा हुँदा बेथिति, अराजकता, अनियमितता, भ्रष्टाचार र कुशासनमा ओली सरकारले पिएचडी गरेको छ । त्योबाहेक राष्ट्र र जनतालाई हितमा राखेर एउटा पनि काम गरेको छैन ।
अङ्कगणितको हिसाबले यो सरकार छ, कानुनी हिसाबले पनि सरकार छ । तर, जनताको नजरमा सरकार छैन । ढलिसकेको छ । विकास निर्माणमा सरकार छैन । सार्वजनिक सेवा प्रवाहमा सरकार छैन । अन्तर्राष्ट्रिय जगतमा सरकार छैन । सरकार कहाँ छ त ? प्रतिनिधिसभामा छ । मन्त्रालयमा छन् । यो सरकारको मुख्य प्राथमिकता भनेको काम होइन, कमिसन हो ।’
उनले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्दा हजारौँ भ्रष्ट जेलमा भएको पनि अहिलेको ओली सरकारले उल्टै भ्रष्टहरूको रक्षा गरेको आरोप लगाए । उनले भने,‘पछिल्लो समय नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टी–स्टेट प्रकरणमा अन्तिम समयमा जेल जानुपर्ने परिस्थिति बनेपछि यो रातारात बनेको सरकार हो ।
जसले बेचन झाको बयान नलिईकन जेल पठाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल अघि बढेको छैन । गिरिबन्धुको फाइल खुलेको छैन । प्रचण्डको पालामा २५ वटा फाइल खोलिएका थिए । बाल मन्दिरदेखि बाँसबारी जाला जुत्ता प्रकरणमा मुद्दा नचल्ने निर्णय गराइयो । त्रिवि जग्गा प्रकरणको प्रतिवेदन हराइयो । कुलमानको गैरकानूनी बर्खास्त गरियो ।
राजकीय संरचनाको चरम दलीय दुरुपयोग गरिएको छ । अरबौँ भ्रष्टाचारमा जोडिएकाहरू सजिलै धरौटीमा छुटेका छन् । अहिले नयाँ बजेट निर्माणमा पनि पूर्णतः असफल देखियो । योजना छनौट पनि गर्न सकिएको छैन ।’
उनले वर्तमान सरकारले नै संस्थागत भ्रष्टाचारको नेतृत्व गरेकोले यसमा सहभागी मन्त्रीहरूले घुस डिल गरेको प्रमाण बाहिरिनु अनौठो नभएको प्रतिक्रिया दिए । उनले भने,‘ओलीजीको सरकार संस्थागत भ्रष्टाचारको नेतृत्व गर्छ । यो सरकारका मन्त्रीहरूले घुस खानुलाई मैले अनौठो मानेको छैन ।’