परोपकारी काम गर्नुपर्छ, मान्छेले मर्दा केही लाँदैनः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८२ असार २८ गते १७:४६ मा प्रकाशित

काठमाण्डू, २८ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी कार्य सबैले गर्न सिक्नुपर्ने बताएका छन् । मानिसले मर्दा केही नलैजाने भन्दै आफ्ना कामहरूबाट स्मरण गर्नसक्ने बनाउनुपर्ने उनले बताए ।

आज (शनिबार) झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा बुद्धशान्ति अस्पतालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘परोपकारी कार्य गर्नुपर्छ । यस कार्यबाट अरुले पनि परोपकारी कार्य सिक्नुपर्छ, अनुशरण गर्नुपर्छ, ‘मानिसले मर्दा केही पनि लाँदैन, काम कृतिहरु स्मरण गर्ने हो ।

अहिले भन्दा १०२ वर्षअघि जन्मिनुभएकी भागिरथा न्यौपानको नाममा अहिले हामी अस्पतालको नामाकरण गर्दैछौँ ।’ गत असोज १० गते उक्त अस्पताल भवनबाट सेवा शुभारम्भ गर्दा भागिरथा न्यौपानेका छोराहरू हरिप्रसाद तथा कुलप्रसादले संयुक्त अस्पताल भवनलाई रिबन काटेर त्यहाँबाट सेवा शुभारम्भ गराएका थिए ।

त्यो बेला विधिवत रुपमा उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भइसकेको थिएन । यसअघि पटकरपटक प्रयास गर्दा पनि जग्गादाताको नाम जोडेर उक्त अस्पतालको नामकरण हुन सकेको थिएन ।

गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठक उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृति प्रदान गरेपछि स्वीकृत नामसहित अस्पताल भवनको शनिवार विधिवत उद्घाटन गरिएको हो ।

०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शैय्यामा सञ्चालित छ । अस्पतालले बीमा सुविधा, ल्याव, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us