जबज केवल राजनीतिक सिद्धान्त मात्रै होइनः विद्यादेवी भण्डारी

काठमाण्डु टुडे २०८२ असार २८ गते १६:५६ मा प्रकाशित

काठमाण्डू, २८ असार– पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको तर्क गरेकी छन । आज (शनिबार) मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै एमाले नेतृ भण्डारीले यस्तो बताएकी हुन ।

एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गर्दै पार्टी सदस्यता समेत नवीकरण गरेकी भण्डारीले एमालेले पनि समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्नेगरी काम गरिरहेको बताइन ।

उनले भनिन्, ‘जबज केवल एउटा राजनीतिक सिद्धान्त मात्रै होइन । यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन पनि हो, ‘हामीलाई थाहा छ, हाम्रो संस्कृतिमा रहेको वैदिक मन्त्र सर्वे भवन्तु सुखिना, सर्वे सन्तु निरामयाले सबै मान्छे सुखी र निरोगी हुन्, सबैले शुभ देखुन् र कसैलाई दुख नहोस् भनि यथार्थ भावना प्रकट गरेको छ । जबजको मूल भावना पनि यही हो ।’

उनले वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई सवास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता गर्नु आजको आवश्यकता रहेको पनि बताएकी छन ।

उनले भनिन्, ‘जबजले हाम्रो राष्ट्रलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने महान लक्ष्यलाई अघि बढाएको छ, ‘नेकपा एमालेले पनि समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय आकांक्षा पूरा गर्न यो सिद्धान्त अनुसार अविचलित रुपमा लागिपरेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us