राप्रपामा चुलियो विवाद , धवल शम्शेरको नेतृत्वमा छुट्टै भेला

काठमाण्डु टुडे २०८२ असार २८ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, २८ असार– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्तरिक विवाद सतहमा आएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर समूहले छुट्टै गुटगत भेला सुरु गरेका छन । पार्टीका महामन्त्री शवलशम्शेर राणाको नेतृत्वमा छुट्टै भेला बसेको हो । भेला राणाकै नक्सालस्थित सचिवालयमा बसेको हो ।

उनीहरुले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रुपमा संगठन चलाएको आरोप लगाएका छन । राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको भन्दै निर्वाचन आयोगलाई जानकारी गराउने तयारी गरेको स्रोतको दाबी छ । केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए ।

यसका साथै राजावादी आन्दोलनका संयोजक बनेका नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए । यो निर्णयलाई राणा समूहले अवैधानिक भनेको छ । राप्रपाको विधानअनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर हटाउनु पर्ने व्यवस्था छ । त्यसैले यो अवैधानिक भएको इतर समूहको आरोप रहेको छ ।

छुट्टै भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्षस् डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य, हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्षस् मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशम्सेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता, सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रविनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्रीस् ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत ५० जनाको सहभागिता रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us