
काठमाण्डू, २४ असार– नेपालमा आएर गैरकानुनी रुपमा डेढ अर्ब भन्दा बढी क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहारस्थित मोतिहारीका ४३ वर्षीय रुपेश कुमार गुप्ता र विहारकै पूर्वी चम्पारण बिजबानीका २२ वर्षीय बिपिन कुमार रहेका छन् । नेपाल प्रहरीककेन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १ अर्ब ५० करोड भन्दा बढी गैरकानुनी क्रिप्टो कारोबार गर्ने दुई भारतीय नागरिकलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुलमा केही व्यक्तिहरुले अवैध हुन्डी कारोबार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार उनीहरुले सानेपामा राजतिर्थ ट्रेडर्स नामको किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरिरहेको पाइएको छ ।
सोमबार पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ८ लाख २० हजार नेपाली रुपैयाँ र भारु १० हजार र एकथान सीसीटीभी डिभिआर समेत बरामद गरीएको पनि प्रहरीले जनाएको छ ।
यस्तै संरक्षित बन्यजन्तु कस्तुरीको विना अ-खेटोपहार जस्तो वस्तु समेत बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं सीआईबी प्रवक्ता युवराज खड्काले जानकारी दिएका छन ।