प्रतिपक्षी दलहरुलाई एमाले प्रमुख सचेतक बर्ताैलाको चुनौतीः प्रधानमन्त्रीसँगै गएर स्पेनमै बसेका व्यक्तिको नाम सार्वजनिक गर्नुपर्याे

काठमाण्डु टुडे २०८२ असार २४ गते १६:०६ मा प्रकाशित

काठमाण्डू, २४ असार– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा केही व्यक्तिलाई स्पेनमै छाडिएको प्रतिपक्षी दलको आरोपपछि संसदमा हंगामा भएको छ । प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य स्पेनमै रहेको आरोप लगाएपछि संसदमा हंगामा भएको हो ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई जोडेर संसदमा भ्रम फैलाउने काम भन्दै आपत्ति व्यक्त गरे । उनले यस विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै रेकर्डबाट हटाउन मागसमेत गरे । एमाले प्रमुख सचेतक बर्ताैलाले भने, ‘प्रधानमन्त्रीज्यु स्पेन भ्रमण सकाएर फर्किसक्नुभएको छ । उहाँ गरिमामय संसदमै पनि यस विषयमा जानकारी गराइसक्नुभएको छ ।

तर, त्यसका बावजुद केही माननीयहरूले भ्रमणमा गएकाहरू स्पेनमै बसेको वा भिजिट भिसामा स्पेन गएर बसेको कपोलकल्पित र भ्रामक विषय प्रस्तुत गर्नुभएको छ । माननीयज्युहरूबाट तथ्यहीन विषयमा सभामुखले नोटिसमा लिनुपर्छ। यस्ता भ्रामक विषय रेकर्डबाट हटाइनुपर्छ, ।’ उनले आरोप लगाउने सांसदहरूलाई स्पेनमै बसेका व्यक्तिको नाम सार्वजनिक गर्न चुनौती पनि दिए ।

‘को व्यक्ति फर्किएनन् भन्ने कुरा जानकारी दिन म माननीयहरूलाई चुनौती दिन्छु। यस्तो भ्रम फैलाउने काम गर्नुभएन ।’ एमालेका मुख्य सचेतक बर्तौलाले बोलेपछि प्रमुख प्रतिपक्षी दल माओवादीका सांसदहरूले उठेर विरोध गरे । सरकारका विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वा मन्त्रीलाई दिन माओवादीले सभामुखको ध्यानाकर्षण गराए । ‘यो सदनमा विभिन्न विषय उठ्छन् ।

ती उठेका विषयमा सरकारको जवाफ माग्छौं । त्यो सरकारले जवाफ दिने हो। कुनै माननीयले दिने होइन। सरकारले वा सरकारको तर्फबाट जवाफ दिनुपर्छ। मन्त्रीले वा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने। उनले एमालेका सांसदबाट आएको जवाफ अमान्य भएको बताए। ‘माननीयबाट जवाफ आइरहेका छन् ।

यसले हाम्रो संसदले हेपिएको भान भएको छ, उनले भने । त्यस विषयमा सभामुख देवराज घिमिरेले आफ्ना ध्यानाकर्षण भएको र उत्तरदायी भएर बोल्न सांसदहरूलाई निर्देशन दिए । त्यसलगत्तै सभामुख घिमिरेले मन्त्रीसँग हुने सवाल जवाफ कार्यक्रमलाई सूचीबाट हटाएका थिए । त्यसविरुद्ध पनि माओवादीले विरोध गरे ।

आफूहरू विषयसूचीअनुसार तयारी गरेर आउने गरेकाले आफूखुसी कार्यसूचीबाट नहटाउन माओवादीका प्रमुख सचेतक पाण्डेले प्रश्न गरेका थिए । सभामुख घिमिरेले कार्यसूचीमा राख्ने र हटाउने काम संसदको भएको भन्दै एकअर्काविरुद्ध नबोल्न निर्देशन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us