
काठमाण्डू, २४ असार– प्रहरीले सर्लाहीमा व्यवसाय गर्ने सिद्धिबहादुर राय क्षेत्रीलाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ घर भएका ४३ वर्षीय रायलाई काठमाडौँको फर्पिङबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले जानकारी दिएका छन ।
‘बागमती साइन्ड प्रोसेसिङ प्लान्ट प्रालि’ का सञ्चालक रायले सर्लाहीमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनीविरुद्ध जेठ १४ मा जिल्ला अदालत काठमाण्डूबाट आपराधिक विश्वासघात तथा ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । सोमबार सर्लाहीबाट काठमाण्डू आउँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
आरोपीले उज्वलराज कँडेललाई ‘ठगी र आपराधिक विश्वासघात’ गरेको आरोप छ । कँडेलले रायसहित चितवनको भरतपुर महानगरपालिका–२ घर भएर काठमाण्डू बस्ने ५३ वर्षीय जीवन राज कँडेल र ४२ वर्षीय पारसराज कँडेलविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । उनको जाहेरीको आधारमा अदालतले तिनै जना विरुद्ध पुर्जी जारी गरेको थियो ।