
काठमाण्डू, २४ असार– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न केही बेरअघि बालुवाटार छिरेका हुन् ।
देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागि रहेका छन ।
हिजो सकिएको कांग्रेसको बैठकले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने भएपनि सरकारको गति बढाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
सातबुँदे सहमति कार्यान्यन नभएको भन्दै कांग्रेसमा सरकारको चर्को आलोचना भएको थियो । गठबन्धनको एक वर्ष पुग्न लाग्दा कांग्रेस–एमाले मन्त्रिपरिषद् हेरफेरको पनि तयारीमा जुटेका छन् ।