
काठमाण्डू, २४ असार- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी बाढीले उत्पन्न संकटको घडीमा पार्टीका सम्पूर्ण तहका नेता–कार्यकर्तालाई तत्काल उद्धार तथा राहत कार्यमा सक्रिय हुन निर्देशन दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् अपिल जारी गर्दै मानवीय संवेदना र जिम्मेवारीका साथ संकट सामना गर्न पार्टी पंक्तिलाई आव्हान गरेका हुन् ।
“विपद्को यस्तो विषम समयमा हाम्रो पार्टीका सबै नेता तथा कार्यकर्तालाई उद्धार, राहत र सहयोगमा खटिन आग्रह गर्दछु,” उनले भनेका छन् ।
साथै, उनले सरकारलाई सम्पूर्ण संयन्त्र परिचालन गरी बेपत्ताको खोजी, राहत वितरण र जोखिम न्यूनीकरणमा चाँडो र प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।
यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानलाई दृष्टिगत गर्दै आगामी दिनमा थप सतर्कता र तयारी आवश्यक रहेको उनले औंल्याएका छन् ।
विपद् व्यवस्थापनलाई दीर्घकालीन रणनीति र समन्वयमा आधारित बनाउनुपर्नेमा उनले जोड दिए । संकटको बेला सम्पूर्ण नागरिक, राजनीतिक दल र संघसंस्था एकजुट भई अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
मंगलबार बिहान भोटेकोशीमा आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुलमा गम्भीर क्षति पुर्यानउनुका साथै आसपासको भन्सार क्षेत्रमा रहेका कन्टेनर तथा अन्य सवारीसाधन बगाएको छ ।
तीन प्रहरीसहित कम्तीमा १८ जना बेपत्ता भएका छन् । ठूलो मात्रामा भौतिक र आर्थिक क्षति भएको प्रारम्भिक विवरणहरू सार्वनजिक भइरहेका छन् ।